‘हामीले अंकमाल गर्यौं र धेरै रोयौं’

खेलकुद

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे ।भारतले स्वतन्त्रता दिवस मनाईरहेको समय धोनी र रैनाले सन्यास घोषणा गरेका थिए । सामाजिक संजाल इन्स्टाग्रामबाट दुवैले सन्यास घोषणा गरेका थिए ।


सन्यास घोषणा गर्दा धोनी र रैना दुवै जना चेन्नईमा रहेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीका लागि धोनी र रैनासहित अन्य खेलाडी चेन्नई पुगेका थिए ।चेन्नईबाट एकै समय सन्यास घोषणा पछि आफुहरु धेरै समय रोएको रैनाले खुलासा गरेका छन् ।

दैनिक जागरणसँग कुरा गर्दै रैनाले सन्यासपछि आफुहरुले अंकमाल गरेर रोएको बताएका हुन् ।’मलाई थाहा थियो चेन्नई पुगेपछि धोनीले सन्यास लिन्छन् र म पनि तयार थिए,’ रैनाले भने, ‘सन्यास घोषणापछि हामीले अंकमाल गर्यौं र धेरै रोयौं । पियुस चावला, अम्बाती रायडू, केदार जाधव र कर्ण शर्मासँग बसेर हामीले हाम्रो करियर र हाम्रो सम्बन्धको बारेमा कुरा गर्यौं ।’

यस्तै रैनाले स्वतन्त्रता दिवसको दिन सन्यास घोषणा गर्नुको कारण समेत बताए ।’हामीले सन्यास लिने निर्णय गरिसकेका थियौं । धोनीको जर्सी नम्बर ७ र मेरो ३, जोड्दा ७३ हुन्थ्यो । र, अगस्ट १५ मा भारत स्वतन्त्र भएको ७३ वर्ष पुग्थ्यो । त्यसैले हामीले उपयुक्त दिन ठान्यौं,’ रैनाले भने ।

सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।भारतले च्याम्पियन्स ट्रफी जित्दा धोनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए । तर, ३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।

धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी-ट्वान्टी खेलेका थिए ।यस्तै ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *